पदहरू
परिचय
सुरेन्द्र तिवारी पर्वत समाजका संस्थापक आजीवन सदस्य तथा कार्यसमिति सदस्य हुनुहुन्छ। उहाँको स्थायी ठेगाना फलेवास–४, मुडिकुवा हो भने हाल बनस्थली, काठमाडौंमा बसोबास गर्दै आउनु भएको छ। पेशाले उहाँ अधिवक्ता तथा कर्पोरेट लिटिगेसन(Corporate Litigation) कानून व्यवसायी हुनुहुन्छ र नेपालको अग्रणी कर्पोरेट कानून फर्म इम्पेरियल ल एसोसिएट्स (Imperial Law Associates) का प्रबन्ध साझेदार (Managing Partner) हुनुहुन्छ।
उहाँसँग कर्पोरेट कानून, कर्पोरेट लिटिगेसन, वैदेशिक लगानी (FDI), साइबर कानून, सूचना प्रविधि कानून, गोपनीयता तथा डाटा संरक्षण कानून, सूचना, सञ्चार तथा प्रविधि कानून (ICT Law) साथै देवानी र फौजदारी मुद्दा सम्बन्धी व्यापक अनुभव रहेको छ। उहाँ हाल फर्मको लिटिगेसन विभागको प्रमुख का रूपमा नेतृत्व प्रदान गर्दै आउनुभएको छ।
उहाँले त्रिभुवन विश्वविद्यालय, कानून संकाय अन्तर्गत नेपाल ल क्याम्पसबाट पाँच वर्षे B.A. LL.B. अध्ययन पूरा गर्नुभएको छ। त्यसपछि भारतस्थित ओ.पी. जिन्दल ग्लोबल विश्वविद्यालय, जिन्दल ग्लोबल ल स्कूलबाट कर्पोरेट तथा वित्तीय कानूनमा स्नातकोत्तर (LL.M.) गर्नुभएको छ।
आफ्नो पेशागत यात्राको क्रममा उहाँले विदेशी लगानीकर्ता, दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक (ISP), बहुराष्ट्रिय सूचना प्रविधि कम्पनीहरू, राष्ट्रिय स्तरका सञ्चार माध्यम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्माण कम्पनीहरू, अन्तर्राष्ट्रिय अस्पताल तथा औषधि कम्पनीहरू, साथै विभिन्न निजी व्यक्तिहरूलाई कर्पोरेट, देवानी तथा फौजदारी मुद्दामा कानुनी परामर्श तथा प्रतिनिधित्व प्रदान गर्दै आउनुभएको छ।
कानूनी अभ्याससँगै उहाँ इन्टरनेट शासन (Internet Governance) तथा डिजिटल नीति निर्माण क्षेत्रमा पनि सक्रिय रहनु भएको छ। उहाँले नेपाल इन्टरनेट गभर्नेन्स फोरम (Nepal IGF), नेपाल स्कूल अन इन्टरनेट गभर्नेन्स (npSIG), इन्डियन स्कूल अन इन्टरनेट गभर्नेन्स (inSIG) तथा एशिया प्यासिफिक स्कूल अन इन्टरनेट गभर्नेन्स (apSIG) जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा सहभागिता जनाउनुका साथै आयोजना समेत गर्नुभएको छ।
हाल उहाँ इन्टरनेट सोसाइटी नेपाल च्याप्टर (ISOC Nepal Chapter) का कार्यकारी सचिव, युथ इन्टरनेट गभर्नेन्स फोरम नेपाल (Youth IGF Nepal) का अध्यक्ष, तथा Open Internet Nepal का निर्देशक हुनुहुन्छ। यसअघि उहाँ World Cyber Security Forum(WCSF) का लागि नेपालका क्षेत्रीय प्रमुख को रूपमा पनि कार्य गरिसक्नु भएको छ। देवानी तथा फौजदारी मुद्दाका अतिरिक्त, उहाँ नेपालमा साइबर तथा ICT कानून सम्बन्धी विषयमा विश्वसनीय र अग्रणी अधिवक्ताका रूपमा परिचित हुनुहुन्छ।

